काठमाडौं, १ असार । जनता समाजवादी पार्टीले कारबाही गर्ने भएपछि प्रतिनिधि सभा सदस्य सरिता गिरीले राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।

अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई राजधानी फर्केपछि बस्ने बैठकले जनता समाजवादीको साधारण सदस्य समेत नरहनेगरी कारबाहीको तयारी गरेपछि गिरीले राजीनामा दिन सक्ने अनुमानित विवरण सार्वजनिक भएका छन् ।

यस विषयमा गिरीको सचिवालयबाट भने औपचारिक र स्वतन्त्र पुष्टि गरिएको छैन । तर जनता समाजवादीका कतिपय नेताले भने उनको राजीनामा आउन सक्ने बताएका छन् ।

संविधान संशोधनमार्फत नेपालको नयाँ नक्शा जारी गर्ने विषयमा गिरीले हालेको संशोधन प्रस्ताव फिर्ता लिनका लागि पार्टीको निर्देशन उल्लंघन गरेको कारण देखाउँदै जनता समाजवादीले उनलाई कारबाही गरी साधारण सदस्य समेत नराख्ने निर्णयको तयारी गरेको छ ।

यादव बिराटनगर र भट्टराई गोरखाबाट फर्केपछि बस्ने बैठकले उनलाई कारबाहीको तयारी थालेपछि गिरीले राजीनामा दिने तयारी गरेको बताइएको छ । उनी तत्कालिन संघीय समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य नियुक्त गरिएकी थिइन् ।

नेपालले नयाँ सीमा कायम गरी बनाएको नयाँ नक्शा र निशान छापलाई अनुमोदनका लागि संविधान संशोधनको निर्णयमा सर्वसम्मत सहमति जुटे पनि गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले फिर्ता लिनका लागि दिएको निर्देशन उनले उल्लंघन गरेकी थिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्