काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बनाउन अब फेरि अर्को आन्दोलन आवश्यक नभएको बताएका छन्।

विद्यालय तहका बालबालिकालाई पठन–पाठन लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अघि सारेको वैकल्पिक सिकाई सम्बन्धी कार्यक्रमको  सोमबार सुभाराम्भ सम्बोधनमा ओलीले यस्तो धारणा राखेका हुन्। प्रधानमन्‍त्री ओलीले भने, ‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन।’

मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै  गरेको उल्लेख गर्दै प्रधानमन्‍त्री ओलीले भने, ‘झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रका लागि लड्यो। नयाँ प्रणाली प्राप्तीका लागि आफ्नो जीवन समर्पित गर्‍यो। पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ।  यो पुस्ता स्वभावतः बढी जिज्ञासु छ। र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ। अभ्यस्त भएकै कारण देश दुनियाँका विषयमा जानकार पनि छ।’

सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने तथा पोखिएको आक्रोस र दिक्दारीबाट निरास नहुन युवालाई आग्रह गर्दै ओलीले भने, ‘मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु। मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?  

प्रधानमन्‍त्री ओलीको भनाइ थियो, ‘अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन। ढुक्क रहौं- मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुन्छ।’

लकडाउन अन्त्य नभएर केही खुकुलो मात्र बनाइएको स्पस्ट गर्दै प्रधानमन्‍त्री ओलीले भने, ‘भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ। लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ। तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ। तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ।’

प्रधानमन्‍त्री ओलीले सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरु र समग्र समुदाय नै संक्रमित हुनसक्‍नेतर्फ सबैलाई सचेत गराउँदै भने, ‘ हाम्रा स-साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ।’

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्