झापा : पाँच वर्षदेखि मुम्बईमा चिया नास्ता पसल गरेर नेपालमा घरखर्च चलाउँदै आएका कचनकवल–५ स्थित फूलबारी बस्तीका तीन दाजुभाइ नेपाल फर्किने क्रममा कोरोना संक्रमित भए । उनीहरू मुम्बईदेखि नेपाल भारतको पाठामारी बोर्डर क्षेत्रसम्म मालबाहक ट्रकमा आएका थिए । 

तीन दाजुभाइबाहेक अरु चारजना ट्रकमा सँगै थिए । तीनमध्येका एक सावज आलम भन्छन्, ‘मुम्बईमा हुँदा पनि जोगिएरै बसेका थियौँ । ट्रकमा पनि अरु कोहीसँग छोइएन । स्यानिटाइजर प्रयोग गर्दै मास्क लगाएरै आएका थियौँ । कहाँ कसरी संक्रमित भइयो थाहा पाएनौँ, मुम्बईबाटै सरेको होला ।’
पाठामारीबाट उनीहरुलाई गाउँपालिकाको टोलीले कचनकवल–३ को पथरिया माविमा लगेर राख्यो । त्यतिबेला बैशाखको पहिलो साता गाउँपालिकाले क्वारेन्टाइन त्यति व्यवस्थित गर्न भ्याएको थिएन । भोलिपल्ट उनीहरूको स्वाब विराटनगर पठाइयो ।

तीन दिनमा कोरोना पोजिटिभ भनेर रिपोर्ट आयो । त्यस्तो लक्षण केही थिएन । रुघा पनि लागेको थिएन । ‘अब यो रोग यस्तै रहेछ । रिपोर्ट आएको साँझ एम्बुलेन्स हामीलाई लिन आउँदा अब मरिन्छ, फर्केर आइँदैन होला भन्ने मनमा लागेको थियो,’ अर्का फिरधोज आलमले सुनाए ।‘यता हामी संक्रमित भएपछि परिवारमा रुवाबासी सुरु भयो’, फिरधोजले भने, ‘कोभिड अस्पताल विराटनगर पुगेपछि भने एउटा आशा पलायो । सबै संक्रमित हामी जस्तै थिए । कसैलाई केही कोरोनाको लक्षण नै थिएन । सबैले हामीलाई सान्त्वना दिन थाले ।’

उनीहरु अस्पताल हुँदा अन्य ७० जना उक्त अस्पतालमा थिए । उनीहरूका अनुसार अस्पताल बसेकामध्ये सबैको अवस्था एकदमै सामान्य थियो । ‘अस्पतालको सेवा सुविधा एकदमै राम्रो थियो । कर्मचारी, डाक्टरहरु जतिबेलै सोध्न आउने के चाहिन्छ भन्ने सोध्ने गर्नुहुन्थ्यो,’ उनले भने ।
उनीहरुको एउटै भनाइ छ, ‘हामीलाई कोरोना लागेकै महसुस नै भएन, कोरोनाबाट आत्तिनुपर्दैन । आत्मबल बलियो बनाएर खानेकुरा समय व्यवस्थापन गरेर खायो भने कोरोना जितिन्छ ।’

आइतबारसम्म अस्पतालबाट घर आएको ११ दिन भएको छ । १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम ३ दाजुभाइ अलग्गै घरमा बसेका छन् । उनीहरूले प्रयोग गर्ने भाँडा, ओछ्यान सबै कुरा परिवारले छुट्टै व्यवस्थापन गरिदिएको छ । ‘जब छोराहरूलाई कोरोना लागेको सुनियो, गाउँले हाम्रो घरमै आउन छाडे,’ सावज आलमका बुवा मेहबुब आलमले भने, ‘घरअगाडिको बाटोबाटै सोध्ने गर्थे । कोही छिमेकी घरमा छिर्दैनथे । हामीलाई पनि उनीहरूकोमा नआइदिए हुन्थ्यो जस्तो गर्थे । समाजमा यहीबाट कोरोना लागेर गए जत्तिकै ठान्थे ।’

आलमको ९ जनाको परिवार छ । अन्य साना छोराछोरी, बुहारी र श्रीमती छन् । उनी भन्छन्, ‘अब छोराहरुलाई भारत रोजगारको लागि पठाउँदिनँ । नेपालमै व्यापार गर्छन् । अथवा खेती गर्छन् । जे हुन्छ आफ्नै देशमा हुन्छ । कोरोनाले दिएको तनावले परिवारको महत्व बुझियो । ’

कचनकवल गाउँपालिकामा आइतबारसम्म १ सय २७ जना कोरोना संक्रमित छन् । यीमध्ये ९४ जना कोरोना जितेर घर फर्किसकेका छन् । उपचाररत ३३ जना छन् । कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव भन्छन्, ‘कोरोना संक्रमित भएर जाँदा संक्रमितमा जुन त्रास थियो, जितेर आउँदा आत्मबल एकदम दरो बनाएको पाइन्छ । सबै स्वस्थ हुनुहन्छ ।’

उनले भने, ‘हामीले कोरोना जितेर आउनेलाई पनि १४ दिन होम क्वारेन्टाइनमै बस्न आग्रह गरेका छौँ । स्वास्थ्यकर्मीको टोलीसहित निरन्तर सम्पर्कमै छौँ ।’

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्