वीरगन्ज : कोरोना महामारीका बेला मस्जिदमा भीड नगर्न आग्रह गरेकै निहुमा एक परिवारलाई वडा अध्यक्षले समाजबाट बहिष्कार गर्न लगाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरका राज महम्मद र उनको परिवारलाई वडा अध्यक्ष हबिब मियाँले समाजबाट बहिष्कार गर्न लगाएका हुन् । 
 
आइतबार परवानीपुरको महम्मदटोल स्थित मस्जिदमा वडा अध्यक्ष मियाको अगुवाइमा बसेको गाउँले भेलाले राजमहम्मदको परिवारलाई समाजबाट बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा वडा अध्यक्ष मियाले राजमहम्मदको परिवारलाई समाजबाट बहिष्कार गरिएकाले उनी र उनको परिवारसँग कुनै लेनदेन र सहयोग नगर्न उर्दी पनि जारी गरेका छन् ।
 
यदि कसैले राजमहम्मदको परिवारसँग लेनदेन वा सहयोग गरे ती व्याक्तिलाई पनि समाजबाट बहिष्कार गर्ने चेतावनी पनि वडा अध्यक्ष मियाले दिएका छन् । जेठ १२ गते ईदका दिन राजमहम्मद, उनका छोरा र श्रीमतीले मस्जिदका इमाम मौलानालाई गालीगलौज र हातपात गरेको वडाध्यक्ष मियाको आरोप छ । इद पछि पनि राज महम्मद र उनका छोरा इर्शादले फेरि त्यस्तै व्यवहार दोहोर्‍याएको भन्दै उनलाई भेलाले समाजबाटै बहिष्कार गर्ने निर्णय गरेको हो ।
  
आइतबारको भेलाले गरेको निर्णयको माइन्युट (निर्णय पुस्तिका) मा , ‘जेठ १२ गते इदका दिन राजमहम्मद र उनका छोरा श्रीमतीले मस्जिदका इमाम् मौलाना महम्मद रुहुल्लाहलाई गालीगलौज र हातपात गरेको, त्यसपछि पनि नीजहरुबाट २-३ पटक त्यस्तै कृयाकलाप दोहोरिएपछि छलफलका लागि बोलाउँदा पनि समाजलाई नै अटेर गरी नआएकाले आजकै मितिदेखि नीजहरुलाई समाजबाट अलग थलग राखेर कुनै पनि किसिमको लेनदेनको कार्य नगर्ने, यदि कसैले नीज र नीजको परिवारलाई साथ र सहयोग गरे ती व्याक्तिलाई पनि त्यही किसिमको कार्वाही हुने निर्णय गरिएको’ उल्लेख छ । 

वडा अध्यक्ष मियाले पहिलो नम्बरमा हस्ताक्षर गरेको माइन्युटमा गाउँका अरु ४३ जनाको पनि हस्ताक्षर छ । पीडित राज महम्मदले भने ईदका दिन भएको सामान्य विवादलाई नै निहुँ बनाएर वडा अध्यक्षले आइतबार भेला बोलाएर आफ्नो परिवारलाई समाजबाट बहिष्कार गर्ने निर्णय गराएको गुनासो गरे । 
उनले कोरोना महामारीका कारण ईदका दिन मस्जिदमा ५ जनाभन्दा बढी भेला भइ नमाज नपढ्न सरकारले आह्वान गरेको भन्दै त्यसो नगर्न  भनेको बताए ।  तर जेठ १२ गते ईदका दिन वडा अध्यक्षसहित ५०-६० जना नमाज पढ्न गाउँको मस्जिदमा भेला भएको उनको भनाइ छ । 
 
सरकारको अह्वानविपरित मस्जिदमा नमाज पढ्न ५०-६० जना भेला भएपछि आफूले लकडाउनको पालना गर्न आग्रह गरेको र त्यसैको निहुँमा अध्यक्षले समाजबाट बहिष्कार गर्न लगाएको राज महम्मदले बताए । ‘ईदका दिन मस्जिदमा भीडभाड नगर्न मैले आग्रह गर्दा वडा अध्यक्ष र उनका निकटका मान्छेले हामी वडा अध्यक्ष हौँ, जमाती अमीर हौं, मस्जिदको कोषध्यक्ष हौँ, हामीलाई जे मन लाग्छ त्यहि गर्छौँ । तँ को होस् हामीलाई रोक्ने र सिकाउने ? भनेर मलाइ थर्काएँ’, राज महम्मदले भने, ‘त्यसपछि पनि मैले विरोध गरेपछि उनीहरु रिसाउँदै वडा अध्यक्षको घरको परिसरमा गएर नमाज पढे ।’ 
 
इदका दिन भएको त्यही विवादलाई लिएर वडा आफ्नो परिवारलाई समाजबाट बहिष्कार गर्ने निर्णय गराएको राज महम्मदको भनाइ छ । आइतबारको गाँउभेलामा आफूलाई कसैले खबर नगरेको र नबोलाएको पनि उनले बताए । 

‘न्यायका लागि कानुनको साहारा लिन्छु’

‘यदि मैले कुनै अपराध नै गरेको छु भने त्यसको सजाय कानुनले दिन्छ, वडाअध्यक्षलाई सजाय दिने अधिकार छैन’, उनले भने,‘तर वडा अध्यक्षले समाजबाट बहिष्कार गर्न लगाएर गाउँसमाजमै ममाथि कंलकको टीका लगाइ दिएका छन् , न्यायका लागि अब म कानुनको ढोका ढक्ढक्याउँछु ।’ आफूलाई समाजबाट बहिष्कार गर्ने निर्णय गर्ने वडा अध्यक्ष र त्यसमा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा लागेको राज महम्मदले बताए । 
 
‘यो विषयमा मैले राष्ट्रिय मुस्लिम आयोगमा लिखित जानकारी गराइसकेको छु’, उनले भने,‘अब प्रहरीमा पनि उजुरी दिने तयारी गरिरहेको छु ।  
 नेपालको कानुनमै कुनै जात, समूह वा वर्णको हिसाबले कसैले कसैलाई पनि छुवाछुत वा भेदभाव गरी जातबाट निकाला गर्न नपाइने छ’, उनले भने, ‘मलाई कलंकित बनाउन खोज्नेलाई कानुनी कार्वाही हुनैपर्छ ।’ 

‘समाजलाई टेरेन त्यसैले बहिष्कार गर्यौं’

वडाअध्यक्ष हबिब मियाले भने समाजले डाकेको भेलामा नआएकोले उनी र उनको परिवारसँग कुनै लेनदेन, खानपिन र व्यवहार नगर्न समाजले नै निर्णय गरेको बताए  । ईदका दिन र त्यसपछि पनि पटक-पटक राजमम्मद, उनका छोरा, श्रीमती लगायतले मस्जिदका ईमाम मौलानालाई गाली गलौज  हातपात गरेको वडा अध्यक्ष मियाको आरोप छ ।

‘त्यही विषयमा छलफल गर्न आइतबार गाँउ समाजको भेला बोलाइएको थियो, भेलामा राज महम्मदलाई पनि बोलाइएको थियो’, वडा अध्यक्ष मियाँले भने,‘तर ऊ समाजभन्दा ठूलो रहेछ। समाजमा आएन अनि समाजले उसको परिवारलाई बहिष्कार गर्ने निर्णय गरेको हो ।’ 

‘समाजबाट बहिष्कार गर्नु कानुनी अपराध हो’ 

वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवले समाजिक बहिष्कार गर्ने अधिकार कसैलाई नभएको र यस्तो गर्ने व्याक्ति कानुनी सजायको हकददार बन्ने बताए । 
‘यदि कसैले गाली गलौज वा हातपात गरेको छ भने त्यसलाई कार्वाही गर्ने राज्यको निकाय छ’, उनले भने,‘समाजबाट बष्हिकार गर्ने अधिकार कसैलाई छैन, यदि कसैले गर्छ भने ऊ कानुनी सजायको हकदार बन्छ ।’ 

यादवका अनुसार मुलुक अपराध संहितामा कुनै पनि आधारमा कुनै नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन र यस्तो कसुर गर्नेलाई ३ वर्षसम्म कैद सजाय वा ३० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने उल्लेख छ । 

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्