वासिङ्टन : अमेरिकामा राष्ट्रपति निर्वाचनका उम्मेदवार जोए बाइडेनले पूर्वराष्ट्रपति तथा आफ्ना साथी बाराक ओबामासँगै चुनावी अभियानमा लाग्ने घोषणा गरेका छन् ।

अर्को हप्ता उनी ‘फण्ड रेजिङ’मा लाग्ने बताएका छन् । बाइडेन मंगलबारदेखि यस काममा लाग्ने बताइएको छ । साथै यस अभियानलाई ओबामा र उनको कार्यकालका उपराष्ट्रपति बाइडेनको पुनर्मिलनको रुपमा लिइएको छ ।

७८ वर्षीय बाइडेनले आफ्नो ‘पूर्वहाकिम’ ओबामासँग अर्को हप्ता सहकार्य गर्ने बताएका थिए । ‘साथीहरुm, मसँग केही ठूलो समाचार छ : अर्को हप्ता, म भर्चुअल फन्ड रेजिङका लागि मेरो साथी र पूर्वहाकिम, राष्ट्रपति बाराक ओबामासँगै हुनेछु, हामी तपाईँहरुलाई त्यहाँ देख्न चाहन्छौँ,’ बाइडेनले सोमबार भनेका छन् ।

यस अभियानमा अमेरिकी जनताले आफूलाई सहयोग गर्ने बाइडेनको अपेक्षा छ । त्यसो त, बाइडेनलाई राष्ट्रपतिमा जिताउन ओबामा पनि सक्रिय हुने अपेक्षा गरिएको छ । यसअघि बाइडेनले ओबामा पत्नी मिसेल ओबामालाई आफ्नो सम्भावित कार्यकालको उपराष्ट्रपतिको रुपमा देख्न चाहेको प्रतिक्रिया दिएका थिए ।

आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जोए बाइडेनबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । यद्यपि नमूना मतदानहरुमा बाइडेन नै अगाडि देखिने गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्