लन्डन : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण करिब तीन महिनादेखि स्थगित इङ्लिस प्रिमियर लिग फुटबल बुधबारदेखि सुचारु हुने भएको छ। पहिलो खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ।

उक्त खेल नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु हुनेछ। खेल सुरु हुनुअघि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिनेछ। हालसम्म २८ खेल खेलेको सेफिल्ड युनाइटेड ४३ अंकसहित तालिकाको सातौं स्थानमा छ। समान खेलबाट २५ अंक जोडेको एस्टन भिल्ला भने १९औं स्थान (रेलिगेसन क्षेत्र)मा छ।

कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका युरोपका चर्चित पाँच लिगमध्ये पुनः सुचारु हुने प्रिमियर लिग तेस्रो हो। यसअघि जर्मन बुन्डेस लिगा र स्पेनिस ला लिगा सुचारु भइसकेका छन्। इटालियन सिरिए सुचारु हुन बाँकी छ भने फ्रेन्च लिग यसअघि नै रद्द भइसकेको छ।

प्रिमियर लिग पनि गत मार्च १३ देखि स्थगित भएको थियो। कोरोना भाइरसको जोखिम अझै कम नभएकाले लिग सुचारु भए पनि रंगशालामा सावधानीका उपाय भने अपनाइने छ। खेलाडी र प्रशिक्षकले खेलका क्रममा मास्क प्रयोग गर्न नपाउने नियम बनाइएको छ। खेलका क्रममा आपसमा निश्चित दूरी कायम राख्न पनि खेलाडीलाई सुझाव दिइएको छ।

जर्मन बुन्डेस लिगामा भने खेलाडीले खेलका क्रममा पनि मास्क लगाउन पाउने नियम बनाइएको छ। तर, प्रिमियर लिगमा खेलका क्रममा मात्र होइन बेन्चमा बस्ने खेलाडीले समेत मास्क लगाउन पाउने छैनन्। खेलाडीलाई चेन्जिङ रुममा समेत मास्क प्रयोग गर्न दिइने छैन। खेलाडीसँगै म्याच अफिसियल, चिकित्सक र फिजियोले समेत मास्क लगाउन पाउने छैनन्।

यसैगरी खेलाडीलाई खेलका क्रममा मैदानमा नथुक्न र नाक सफा नगर्न पनि सुझाव दिइएको छ। गोल भएपछि खुसियाली मनाउँदा पनि सावधानी अपनाउन खेलाडीलाई निर्देशन दिइएको छ। बेलायत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रहरूमध्ये एक हो।

बेलायतमा हालसम्म करिब दुई लाख ९७ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। हालसम्म कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा ४१ हजार सात सयभन्दा बढीको मृत्यु भइसकेको छ। त्यसैले पनि लिगका क्रममा विशेष सावधानी अपनाउन लागिएको हो।

जर्मन बुन्डेस लिगा र स्पेनिस ला लिगाजस्तै इङ्लिस प्रिमियर लिग पनि बन्द (दर्शकविहीन) रंगशालामै खेलाइने छ। रंगशालामा दर्शक कराएको अनुभूति दिन कृत्रिम आवाजको प्रयोग गरिने छ। तर, टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्ने दर्शकले चाहेमा त्यस्तो आवाज नसुन्न पनि सक्छन्।

प्रिमियर लिगमा ‘बल ब्वाइ’ वा ‘बल गर्ल’को पनि प्रयोग गरिने छैन। खेलका क्रममा बल मैदानबाहिर गए कीटाणुनाशक औषधिले प्रशोधन गरिएको अर्को बल खेलाडीलाई दिइने छ। मैदानमा खेलिरहेका खेलाडीले भने त्यस्तो कृत्रिम आवाज सुन्न सक्ने छैनन्।

खेलका क्रममा कुनै पनि रंगशालामा खेलाडी, प्रशिक्षक, अफिसियल र कर्मचारीसहित तीन सयभन्दा बढी व्यक्तिलाई प्रवेश गराइने छैन। रंगशालाको संवेदनशील क्षेत्रमा भने खेलाडी र कर्मचारीसहित बढीमा एक सय १० व्यक्तिमात्र उपस्थित हुन पाउने छन्।

प्रिमियर लिग स्थगित हुनुअघि २९ खेल खेलेको लिभरपुल ८२ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाट ५७ अंक बटुलेको छ। पहिलो र दोस्रो स्थानमा आसीन टोलीबीच निकै ठूलो अन्तर भएकाले पनि लिभरपुललाई उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्