-डा. यञ्जन गैह्रे

माइग्रेन एक प्रकारको न्यूरोलोजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो । अत्याधिक तनावमा रहने, ग्यास्ट्रिकले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानों कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरू, उच्च रक्तचाप, र हार्मोनहरूको गड़बड़ी भएकाहरूलाई यो रोगको जोखिम धेरै छ । सहनै नसक्ने गारी टाउको दुखेको अवस्थामा औषधिहरूको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तर यो दीर्घकालीन उपचार भने होइन । माइग्रेन दीर्घकालीन रूपमा ठीक गर्न जीवनशैली तथा प्राकृतिक उपचार उपयोगी छन् ।

जीवन शैली उपचार

१. निंद्रा पूरा गर्न कुनै कनजुस्याई नगरी कमसे कम ६ देखि ८ घन्टा नियमित गहिरो निंद्रा सुत्ने गरौं । सुत्ने र उठने समय नियमित एउटै  गर्ने गरे माईगे्रनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।

२. तनाब, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लेखित समस्याहरूको यथोचित व्यावस्थापन गर्ने तिर लागौं ।

३. उत्तेजक प्रकाश, होहल्ला र खैला बैलाले पनि बढ़ावा दिने हुँदा उक्त कुराहरू बाट बचौं ।

४. प्रशस्त पानी नपिउनेहरू पनि यो समस्याको शिकार हुने गर्दछन् । अतः दैनिक ४ देखि साढ़े ५ लीटर पानी पिउने बानी बसालौं ।

५. लामो समयसम्म निस्क्रिय जीवन जिउनेहरूमा यो रोग ज्यादा देखिएको छ तसर्थ हप्तामा कमसे कम ५ देखि १२ घन्टासम्म व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौं ।

६. तारे भुटेका मसालादार खानेकुरा खानेहरू, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरू जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरू, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरूको सेवन गर्नेहरू, फास्ट तथा जंक फुड खानेहरू पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानीहरू हटाएर स्वास्थ्य जीवन शैली अपनाऔं ।

७. भोजनको नियमिततामा ध्यान दीऔं । भुलेर पनि टाइमको भोजन नछाडौं । भोकभोकै बस्नेले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ । बोतल र बट्टाबद्ध संरक्षित खनेकुराहरू (जंक फूड ) खाने बानी छ भने तुरुन्त छोड़ी दिऔं । अत्याधिक तातो र चिसो खाद्य बस्तुहरूको पहरेज गरौं । नुन, चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन् ।

८. योग, ध्यान, प्राणायाम, जस्ता मन प्रसमनका उपायहरू सिकेर नियमित अभ्यास गर्ने गरौं । माइग्रेन तनावपूर्ण जीवन ज्यूउनेहरू, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरूलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।

९. शारिरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड–साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्स–टेक्निक (DRT), क्विक–रिल्याक्सेसन–टेक्निक(QRT), ईन्स्टेन्ट–रिल्याक्सेसस्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरू सिकेर नियमित अभ्यास गर्ने गरौं ।

१०. चुकन्दर, काक्रो, बन्दाकोभी, गाजर खरभुजा जस्ता क्षारीय फलफूलका रस तथा नारियल पानी आदि को सेवन गर्नुपर्छ । उपवास (व्रत) ले पनि यो रोगमा फाइदा गर्छ ।

प्राकृतिक उपचार

१. टाउकाको मालिशले माइग्रेनलाई विशेष फाइदा गर्छ । शीत गुणले युक्त जडीबुटीको बासनादार एरोमेटिक तेलले मालिश गर्दा यो रोग निवारणमा अझ राम्रो गर्छ ।

२. उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ ।

३. तौलीलाई ततोपानीमा डुबाएर दुखेको ठाउँमा मालिश गर्दा पनि यो रोगमा विशेष फाइदा हुन्छ । कसै कैसेलाई यसै प्रकारको बरपÞmको मालिशले पनि फाइदा गरेको छ ।

४. एक्युपंचर पनि माइग्रेनको उपचारको महत्वपूर्ण विधि हो।

५. माइग्रेन रोकथामका लागि किरोप्रैक्टिस,  फिजियोथेरापी , मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोला‘जी, पनि प्रभावकारी उपचार हुन् ।

६. अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन् ।

७. मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्वयुक्त खाद्यान्नले पनि माइग्रेन जाति गर्न सहयोग गर्छ ।

८ शिरोधारा, शिरोवस्ती, उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आर्युवेदिक उपचार विधिहरू पनि यो रोगमा लाभकारक छन ।

९. ८–१० दान ठूलो बादामको दैनिक सेवन गर्ने गरौं । तुलसीको पातको रस महसँग बिहान बिहान खाने गरौं । दूबोको रसको सेबन पनि यो रोगका लागि लाभकारी छ ।

१०. जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता यौगिक सोधन बिधिहरू पनि यो रोगको उपचार का महत्वपूर्ण आयामहरू हुन् ।

(लेखक डा. गैह्रे काठमाडौं नेचुरोपेथी अस्पतालका मेडिकल डाइरेक्टर हुन् )

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्