काठमाडौं : विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल मिलेमतोको आरोप लागेका ६ जना फुटबलरले मंगलबार सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले खेल मिलेमतोको आरोप लागेका फुटबलरलाई सफाइ दिएको हो।

सफाइ पाउनेमा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षत्री, सन्दीप राई, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा छन्।

विभिन्न प्रतियोगितामा खेल मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको आरोपमा पाँच वर्षदेखि उनीहरूविरुद्ध मुद्दा चलिरहेको थियो। सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसलालाई नै सदर गरिदिएको हो। सफाइ पाएपछि पूर्वकप्तान सागरले नगरेको गल्तीमा ढिलै भए पनि न्याय पाएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सागरले फुटबलबाट पाँच वर्ष खेल मैदानबाट बाहिर बस्नु पर्दाको क्षतिपूर्ति कसले बेहोर्छ भन्दै प्रश्नसमेत गरेका छन्। ‘नगरेको अपराधबाट सफाइ त पायौं। निराधार आरोपले देशभर गलत सन्देश गयो। हामी अपराधी होइनौं भन्ने प्रमाणित त भयो तर यसको मूल्यांकन कसले गर्ने’, सागरले भनेका छन्।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोपमा उनीहरूलाई २०७२ साल असोजमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। उक्त अभियोगमा उनीहरूलाई यसअघि २०७५ जेठ २४ गते विशेष अदालतले निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो।

तर, विशेष अदालतको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो। यद्यपि खेल मिलेमतोको आरोपमा यी ६ जना खेलाडी र प्रशिक्षकलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले भने फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्धको कारबाही गरेको छ।  

अन्तिम पटक अध्यावधिक गरिएको Posted on

प्रतिक्रिया दिनुहोस्