संयुक्त सरकार बनेको पनि दुई महिना पुग्ने बेला भइसक्यो । सरकारको आकार पूर्ण हुने पर्खाइमा यो समय बितेको छ । अब पर्खाइ धेरै लम्मिएलाजस्तो लाग्दैन । बढीमा साता दिन आसपासमा दलहरु मिसिएको सरकारको सग्लो आकार सार्वजनिक होला । दृश्यजन्य अपेक्षा । 

एकभन्दा बढी दलको सहभागितामा सरकार बनाउनु नेपाली टुक्का र राजनीतिक संस्कारमा ‘भ्यागुताको धार्नी’ पुर्याउनु जस्तै कठिन भन्ने बुझिन्छ । भ्यागुताको धार्नी पुग्छ तर मरे, मारेकाको, जिउँदाको होइन । यो भनाइको आशय पनि जिउँदासँगै सम्बन्धित छ । जोख्न तराजुमा राख्यो कि जिउँदाहरुको भागाभाग । 

राजनीतिक सहभागिता वा दलहरुबीचको सहकार्यलाई दलीय गठबन्धन वा भागबण्डा भन्ने प्रचलन हाम्रो मुखबोलीमै छ ।

भागबण्डाभन्दा अलि होच्याएजस्तै लाग्ला । यही शब्दलाई सत्ता साझेदारी वा हिस्सेदारी भनिदिँदा अलि राम्रो सुनिएजस्तो लाग्ने ? कुरो त उही नै हो । गठबन्धनभन्दा दलबन्धन अलि सुन्दर लाग्छ कि ? तर पारम्परिक प्रयोगमा दिइएको अर्थ संकेतको प्रभाव पुस्तान्तरको बुझाइमा परेको हुनुपर्छ । 

राजनीतिको यस्तै विषयमा हुने टिप्पणी वा पत्रकारिताकै अधिक प्रयोगमा पनि यस्तै होच्याएजस्तै शब्द किन बढी प्रयोगमा आएको वा ल्याइएको होला ? यो प्रश्नमा राजनीतिक नेता, कर्मी वा विश्लेषकहरुले ध्यान दिएकै हुनुपर्छ । चरित्र र सिद्धान्त गुमाएको स्वेच्छाचारी ‘कथित राजनीति’ भन्ने सन्देश दिन नै यस्ता हेय शब्द प्रयोगमा बढी आए । राजनीतिमा असल वा स्वत्व हरण गरिएको तात्पर्य हो यो । 

अहिलेको सरकार संरचनाको हालत पनि झन्डै यस्तै हँुदै, बनाइँदै र देखिँदै छ । जन जिब्रोको त्यही शब्द दोहोर्याएर भन्दा अहिलेको लोकतान्त्रिक कम्युनिस्ट ‘गठबन्धन’ वा ‘दलबन्धन’ सरकार झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएर बनेको हो । दुईतिहाइको असफल र दलबन्धनको सरकार सफल होला भन्ने मान्न अहिलेलाई नेपाली जनमत शंकालु छ ।

दलहरुको भूमिकाले यस्तै प्रभाव छोडेको कारण यस्तो शंकाले घरजम गरेको हो । दलबन्धन सरकारको संस्कार स्थापित गर्लान् त सहभागी दलहरुले ? कि पुरानै प्रवृत्ति ‘गँगटा फाइट’ जस्तै गर्लान् यिनीहरुले । 

सरकारले पूर्ण आकार नपाएको, झन्डै डेढ दर्जन मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाको जिम्मा रहेको, ती मन्त्रालयले आवश्यक गतिमा काम गर्न नपाएको र परिणाम विकास कार्य वा पुँजीगत खर्चमा समेत बाधा परेको आदि टिप्पणी भइरहेछन् । यस्ता टिप्पणी गठबन्धनमा आबद्ध दलहरुको लागि प्रीतिकर पक्कै होइनन् । किन भइरह्यो सरकार पूरा हुन ‘डिले’ ? 

कारण त्यही शब्द हो भागबण्डा । अझ मालदार मन्त्रालयको भागबण्डा रे ! मन्त्रालयको संख्या भागशान्तिमा पनि पनि दुनोट पढ्नै पर्यो । तँ छाड, म छाड छ । कसले धेरै पाउने, कमाउने भन्ने हो कि गठबन्धन भनेको वा आवश्यक पर्दा पुस्तौँ हिड्न मिल्ने राजनीतिक दलीय संस्कार बनाउने बेला हो यो ? दलका मानिसहरुको चरित्र फेरिएको सन्देश अझै दिइने छैन कि के ?
मन्त्रालय मालदार ? देख्ने, सुन्नेलाई समेत लाजमर्नु । प्रभावकारी वा प्रभावशाली मन्त्रालय भनिएको हुन्थ्यो भने अलि सरल सुनिन्थ्यो । जनताले लाज मान्नु पर्थेन । त्यसो त आआफ्नो काम र जिम्मामा सबै मन्त्रालय नै प्रभावशाली छन् र पनि अर्थ, परराष्ट्र, गृह र सञ्चार मन्त्रालय अलि गुरुगम्भीर हुन् भनिन्छ ।

निर्माण, यातायात, उड्ड्यन, श्रम र आपूर्तिजस्ता मन्त्रालयलाई मालदार भन्ने प्रचलन नेपाली जिब्रोमा झुन्डिएको छ । न्याय कानुन, संसदीय र सहरी विकासजस्ता मन्त्रालय आफूलाई प्रभुत्वशाली ठान्ने राजनीतिकर्मीको रोजाइमा पर्दैनन् रे ! साँच्चै देखिएको प्रवृत्तिगत रोजाइ हो यो र यसले हाम्रा दलहरुको राजनीतिक संस्कार र चरित्र चित्रण गरिदिन्छ । 

सिद्धान्तहीनता, चरित्र स्खलन, स्वार्थ, स्वेच्छाचार र अविश्वास बढेकोले राजनीतिको परिभाषा नै फेरिएजस्तो भएको छ । त्यसैले मानिसहरु राजनीतिलाई ‘फोहरी खेल’ भन्दा आनन्द मान्न वा सही टिप्पणी भएको ठान्न थालेका छन् । फोहरी खेल नभएर पूर्वसंस्कार वा प्रयोगमा शुद्ध खेल हो राजनीति । तर, फोहरीहरुले पो अपवित्र पारे । 

यतिबेला दलबन्धनको सरकार पूरा हुन सतहमा आएका गारो पार्ने केही कारणसमेत छन् । मूलमा हिस्सेदारीको हिसाबकिताब होला पनि । जस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को गठन, जनता समाजवादी पार्टीले मागेको समय र नेकपा (माओवादी केन्द्र)को पनि आफ्नै अलमल छ । 

केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै दलभित्रका मन्त्री हुन इच्छुकको भिडले आफ्नो टाउको खाएको सार्वजनिक गरेबाट परेको कठिनाइ व्यक्त भएकै हो । आगामी २२ गतेसम्म नेकपा (एस)मा जाने वा नेकपा (एमाले) छान्ने अवसर त्यहाँका कार्यकर्तालाई निर्वाचन आयोगले दिएको छ । यसको प्रभाव पनि सरकारको संरचना पूर्ण बन्ने, बनाइनेमा पर्ने छ कि ? 

मन्त्री हुन खोज्ने प्रतिस्पर्धीमा अधिक कस्ता होलान् ? हुन चाहनु गलत होइन । राजनीतिकर्मीको लागि स्वाभाविक हो । प्रतिस्पर्धा पनि हुन्छ नै तर किन ? प्रश्न यो हो । देश र जनताको सेवाभावले भन्दा बढी पदसँग जोडिएको साधन सुविधाको प्राप्ति, पदले दिने पहिचान र पैसासमेत अन्य लाभको अवसरले अधिक राजनीतिकर्मीलाई बढी नै गाँजेको देखिन्छ । सबै यस्ता छन् भन्दा केही सच्चरित्रलाई पनि धक्का लाग्छ, अन्याय हु्न्छ । थोरै किन नहून् तर हरेक पेसा, व्यवसाय, क्षेत्र वा कर्मकार्यमा सच्चरित्र व्यक्ति नेपाली समाजमा पनि छन् । समाज, व्यक्ति र हामीले नै सच्चरित्रहरुको पहिचान, सम्मान र संरक्षण गर्ने हो । हाम्रो खोजी सच्चरित्रप्रति छ भने । खोजी अर्थोकै भए भन्न बाँकी रहेन । 

राजनीतिसँग सम्बन्धित हुँदै धेरै क्षेत्र विशेषमा प्रयोग गरिने माथि प्रयुक्त शब्द वा वाक्यांशको विवेचनाजस्तो पनि लाग्यो होला । हो पनि । किनभने यी शब्द र वाक्यांशले खास हाम्रो राजनीतिक चरित्रलाई यथार्थबोध वा नांगो देखाएको छ । राजनीति सुध्रियो भने शब्द सम्बोधन पनि सुध्रिने पक्का छ । 

लाग्छ, भागबण्डाको हिस्सेदारी वा सहभागिता दलीय सन्दर्भमा गठबन्धनभन्दा दलबन्धन वा दलीय सहभागिता, मालदार मन्त्रालयको सट्टा प्रभावकारी वा गम्भीर र प्रभावशाली मन्त्रालय आदि सम्मान सूचक शब्द सम्बोधन गरिएला । राजनीति सच्चरित्र र सिद्धान्तनिष्ठ भयो, बन्यो भने । नागरिक अपेक्षा राजनीति सम्मान सूचक बनोस् भन्ने नै हो । 

बाँकी मालदारकै भागबण्डा र गठबन्धन नै राजनीति हो भने अहिलेका दल, नेता र सांसद्हरुलाई भन्नु बाँकी केही छैन । सच्चरित्रको अपेक्षा पनि पुस्तान्तरणमै गरौँ । Source: 12khari.com

https://baahrakhari.com/news-details/327371