जेठ ९,काठमाडौं । सशस्त्र प्रहरीको टोलीले बाराको पचरौतना नगरपालिका–९ बल धुसुवाबाट करिब ६४ किलो प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

बारास्थित सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका अनुसार प्याकिङ गरी कार्टुनमा तयार गरी राखिएको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । प्याकिङ गरी टाउकोमा बोकी लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फालेर चारजना मानिस फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी भइरहेको छ ।

२० लाख मूल्य बराबरको सामान बरामद

भन्सार छलि ल्याएको करिब रु २० लाख मूल्य बराबरका विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको सवारीसाधन प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामग्री तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएकोे प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका–७ रामटोल नजिकै रेल्वेरोडबाट बा २० च ७८६४ नं को पिकअप गाडीलाई कपडाजन्य सामाग्रीसहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।