रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका थिएनन् । नगर प्रमुख खानलाई केही विपन्न वर्गका व्यक्तिहरूको हज गर्ने इच्छा भए पनि इच्छा मारेर बसेको जानकारी भएपश्चात उनले व्यक्तिगत पहलमा तीनै जनालाई निःशुल्क हज गर्न जाने व्यवस्थापन मिलाइदिएका हुन् ।
 
‘म हज गर्न चाहेको थिए तर केही कारणले जान सकेको थिएन’ हज गरेर स्वदेश फर्किने तयारीमा रहेका सिद्धार्थनगर नगरपालिका-६ का हाजी सहजादे मुसलमानले भने, मेयर सा’बका कारण आफ्नो जीवनकै सबैभन्दा पुनित कार्य गरेकोमा खुसी छु र उहाँप्रति आभार प्रकट गर्दछु ।’ उनी जस्तै अन्य दुई जना निजामुद्दिन मियाँ र नियाज मुसलमान पनि उत्तिकै हर्षित छन् ।

तीन जनाको हज यात्राका लागि कुल १३ लाख ९० हजार एक सय १९ रुपैयाँ लागेको लागत नगर प्रमुख खानले व्यक्तिगत पहलमा व्यवस्थापन मिलाइदिएका हुन् । जसकारण साउदी अरेबियामा आफुहरुलाई खान, बस्न, हवाई टिकट, लगायतमा कुनै किसिमको समस्या नपरेको उनीहरुले बताए ।

ईस्लाम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक हो । 

इस्लाम धर्मावलम्बीहरूको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ ।

हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सात पटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज (कावा) प्राप्त हुन्छ । बकरईद पर्वका दिन विशेष नमाज पढी पशु जनवारको कुर्वानी दिने चलन छ । हजयात्रा गरी आउने व्यक्तिलाई हाजी भन्ने गरिन्छ ।

मुस्लीममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग (जन्नत) जाने सरह पूण्यफल प्राप्ति गर्ने, अन्जानमा भएका गल्तीबाट मुक्ति पाउनुका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निष्छल र पवित्र हुने धार्मिक विश्वास छ ।