इस्लामाबाद ।  पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् । 
राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको विषयमा व्यापारीहरूको संस्थाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकलेयस्तो टिप्पणी गरे । उनले गुप्तचर रिपोर्टलाई उद्धृतसमेत गरेका थिए ।

यस महिनाको सुरुमा, ७० वर्षीय खानलाई वजिराबाद सहरमा इस्लामाबादमा ‘लङ्ग मार्च’ गर्ने क्रममा एक आक्रमणकारीले खुट्टामा गोली हानेका थिए । आक्रमणमा खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का एक समर्थकको मृत्यु भएको थियो । उक्त हमलामा एक दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पार्टीले आफ्नो मार्च स्थगित गर्न बाध्य पारेको थियो ।

पूर्वक्रिकेटर खानले वर्तमान प्रधानमन्त्री शहबाज सरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैन्य अधिकारी जनरल फैसल नसीरलाई आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।