काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । 

माओवादी केन्द्रको नाम नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनु भयो । मंगलवारबाट काठमाडौंमा शुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लडन पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्नसक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराउनु भयो । 

अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनु भयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनैपनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताउनु भयो । अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनैपनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताउनु भयो । 

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उल्लंघनकर्ताहरुले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।