काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ । 

शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनुभएको हो । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।

मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाई छ । उहाँले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताउनु भयो । सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताउनु भयो । उहाँले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानून निर्माणका लागि पत्रकारहरुले राम्रो भुमिका निर्माण गर्नसक्ने पनि स्मरण गराउनु भयो । 

सभामुख घिमिरेले कानूनको अभावमा मुलुकमा ठगीहरु बढीरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताउनु भयो । उहाँले कानून निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भुमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताउनु भयो । 

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।