काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रश्तुत संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
सोमवार संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले प्रश्तुत विधेयकमा कुनकुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिनुभयो ।
उहाँले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गर्नुभयो । उहाँले संसदको मर्यादा कायम गरेर संसदीय गतिविधिलाई अघि बढाउनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले आफूहरु संसदमा प्रश्तुत विधेयक त्रुटीरहीत, जनताको पक्षमा र लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउने पक्षमा रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गर्नुभयो ।