काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ । 

आईतवार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दज्र्यानी चिन्ह प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गर्नुभयो । उहाँले समाजमा प्राविधिक गतिविधिहरुमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यक्ता रहेको बताउनु भयो । सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने बताउनु भयो । उहाँले प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको आवश्यक्ता रहेको बताउनु भयो । 

सचिव सिंहले प्रहरी प्रशासनमा अझैपनि पूर्ण रुपमा सुधार नदेखिएको बताउनु भयो । उहाँले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताउनु भयो ।