काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद शेखर कोईरालाले मुलुकको संकटग्रस्त अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्रीको इच्छाशक्तिले मात्रै नपुग्ने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालले नागरिकको विश्वास र सांसदको समर्थनबाट देशमा देशमा देखापरेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सक्नुपर्ने बताउनु भयो । प्रधानमन्त्रीले सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्राण गर्न सक्नुपर्ने उहाँको भनाई छ । उहाँले मुलुकमा भ्रष्टाचारको जगबाट समाजवाद आउन नसक्ने दाबी गर्नुभयो ।
नेता कोईरालाले वर्तमान सरकारको मासु अर्थतन्त्र सुधार गर्नुपर्ने चुनौतिका चाङ रहेको बताउनु भयो । उहाँले नागरिकलाई भरोसा र विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्री सक्नुपर्ने बताउनु भयो । उहाँले संसदमा सरकारमा समर्थन लिन सजिलो भए जस्तो समर्थन जोगाउन त्यति नै ग्राहो छ भन्ने कुरा सरकार बनेको दुई महिनामा दुई पटक विश्वासको मत दिनुपर्दा राम्रोसँग नेपाली काँग्रेसले बुझेको उल्लेख गर्नुभयो । उहाँले सरकार टिकाउन जति सांसदको महत्व हुन्छ त्यति महत्व नागरिकबीच सरकारको विश्वासले निर्धारण गर्न रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र सवल बनाउनको लागि अनावश्यक खर्च घटाउन आवश्यक रहेको बताउनु भयो ।
सांसद कोईरालाले जोखिम लिएर आफ्नो उद्यमशिलताको बलमा पुँजी परिचालन गर्ने रोजगारी परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने र सरकारलाई कर तिर्ने वर्गमा निराशा देखिएको बताउनु भयो । उहाँले गरिखाने युवा वर्ग सबै विदेश पलायन हुन खोज्नु र नेपालमा नै उद्यम गर्ने उद्योगीहरु निराश हुनु, राष्ट्र सिकिस्त बिरामी भएको अवस्था देखिएको टिप्पणी गर्नुभयो । नेता कोईरालाले सरकारले जारी गरेको जनगणनामा काम गर्ने उमेर समूहका दुई तिहाई नेपाली बेरोजगार देखिएकाले पनि देशमा भयावह स्थिति रहेको देखिएको बताउनु भयो।
उहाँले साधरण खर्चमा वृद्धि,विकास खर्चको ढिलाई र फजुल खर्चको अत्याधिकताले मुलुकको अर्थतन्त्र थला परेको बताउनु भयो । उहाँले देशमा भित्रिएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै मुलुक रेमिट्यान्सको माध्यमबाट दीर्घकालसम्म चलाउन सम्भव नभएको दाबी गर्नुभयो ।