काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गर्नुभएको छ । 

बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गर्नुभएको हो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताउनु भयो । सरकार खर्चमा मितव्ययी हुनुपर्ने उहाँको भनाई छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताउनु भयो । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उहाँले बताउनु भयो । 

उहाँले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उहाँले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताउनु भयो । त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उहाँले बताउनु भयो । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अल्मल्लिएको भन्दै दौडिन शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी ५÷६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न शुरु ग¥यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गर्नुभयो ।