काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गर्नुभएको छ । 

शुक्रवार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरुको मूल्यांकन गरी प्रक्रियागत रुपमा नै टुंग्याएको दाबी गर्नुभयो । उहाँले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटी छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रुपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताउनु भयो । उहाँले राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रुपमा गरिएको स्पष्ट पार्नुभयो । उहाँले अदालतको फैसलाले नै कतैपनि प्रक्रियागत त्रुटी रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताउनु भयो । उहाँले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गर्नुभयो । 

महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरुले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुनेपनि बताउनु भयो । 

महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? भन्नेकुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गर्नुभयो ।