काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको हो । उहाँले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताउनु भयो । उहाँले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताउनु भयो । उहाँले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताउनु भयो । 

प्रधानमन्त्री दाहालले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।