काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताउनुभएको छ । 

बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताउनु भयो । उहाँले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताउनु भयो । उहाँले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याउनु भयो । 

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गर्नुभयो । उहाँले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताउनु भयो ।

उहाँले आगामी दिनमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताउनु भयो ।