काठमाडौं । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । 

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताउनु भयो । उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गर्नुभयो । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गर्नुभयो । 

उहाँले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताउनु भयो । उहाँले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताउनु भयो । 

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताउनु भयो ।