काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् ।
नयाँ वर्षका हरेक दिन संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’, प्रधानमन्त्री प्रचण्डको शुभकामनामा सन्देशमा उल्लेख छ ।