काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ । 

हाल नेपालको कुर्थादेखि भारतको जयनगर सम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवारदेखि दिनको चार पटकआवत जावत गर्दै सेवा बिस्तार गरेको हो ।

यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्ने गरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ ।

यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यस अघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । साथै महाप्रवन्धक झाले बिजलपुरा सम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताउनु भयो ।

उहाँले चाँडै नैबिजलपुरा सम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताउनु भयो । उहाँले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताउनु भयो । उहाँले अब सहज र सुलभ रेल सेवा उपब्ध हुने बताउनु भयो । यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतिी बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो ।