काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताउनु भयो ।
उहाँले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सांसद गौतमले सडक निर्माणकै कारण नेपाली जनतामा ठूलो स्वास्थ्य समस्या आएको उल्लेख गर्दै त्यसको निराकरणका लागि के नीति लिएको छ ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।