राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुनेछन् । महिलातर्फ समूह चरणको खेल हुनेछ भने पुरुषतर्फ क्वाटरफाइनलको खेल हुनेछ ।

महिलाको पहिलो खेलमा एपीएफ र नेपाल पुलिस खेल्ने छन् । दुई टिमबीचको खेल अहिले ८ बजे सुरु भएको छ ।

यस्तै महिलाको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फको पहिलो क्वाटरफाइनलमा हेल्प नेपाल र नयाँ बजारबीच मध्यान्न १२ बजे, नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच दिउसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

तेस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लबबीचको खेल ४ बजे हुनेछ ।

चौंथो क्वाटरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच आज साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।