काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ नयाँ कीर्तिमाननजिक पुगेका छन् । नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानीसँग बराबरी गरेका उनी राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमाननजिक पुगेका हुन् ।
किरणले गएको बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेल खेलेसँगै पूर्वकप्तान विराज महर्जनसँग ७३ खेलको कीर्तिमानीसँग बराबरी गरेका गरेका थिए । योसँगै किरण र विराज नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।
किरण आजको खेलमा मैदानमा उत्रिएसँगै राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । नेपालले आइतबार भारतसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।
किरणले कम्बोडियामा सम्पन्न २००८ को एएफसी च्यालेन्ज कप छनोट प्रतियोगितामा मकाउविरुद्ध नेपालबाट डेब्यु गरेका थिए । तर, मे २४ को त्यो डेब्यु किरणका लागि खेल सम्झनलायक भने रहेन । उनी चिउँडोमा चोट लागेपछि २४औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसयता उनले नेपालबाट ७२ खेल खेलिसकेका छन् । किरणको डेब्यु खेलमा नेपालले मकाउलाई ३–२ ले हराएको थियो ।
पछिल्लो समय भारतको पन्जाब एफसीबाट खेलिरहेका किरणले क्लब फुटबलमा मच्छिन्द्र, थ्री स्टार, मनाङ–मर्स्याङ्दी, माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट खेलिसकेका छन् । उनले पछिल्लो समय नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका थिए ।