काठमाडौं । ओपनर रोहित शर्माको शतकप्रेरित भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेष्टको तेस्रो दिन १७१ रनको अग्रता लिएको छ । 

तेस्रो दिन थाल्दा भारतका रोहित २० र केएल राहुल २२ रनको स्थितिमा थिए । रोहितले १२७ रन बनाउँदा केएल राहुलले ४६ रन बनाएर पवेलियन फर्किए । रोहितको भारतबाहिरको टेष्टमा यो पहिलो शतक हो । रोहितले घरेलु भूमीमा सात शतक बनाएका छन् । 

चेतेश्वर पुजराले ६१ रन बनाए । तेस्रो दिन सकिँदा भारतका कप्तान विराट कोहली २२ र रविन्द्र जडेजा ९ रन बनाएर क्रिजमा छन् । 

भारत २७०/३ को स्थितिमा छ । इङ्ल्यान्डका ओली रोबिन्सनले २ र जेम्स एन्डरसनले एक विकेट लिए । 

त्यसअघि भारतले पहिलो इनिङ्समा १९१ रन बनाउँदा अलआउट भएको थियो । इङ्ल्यान्डले पहिलो इनिङ्समा २९० रन बनाएको थियो । 

पाँच खेलको टेष्ट शृंङ्खला १–१ को बराबरीमा छ । पहिलो टेष्ट बराबरीमा सकिएको थियो । दोस्रो टेष्ट भारत र तेस्रो टेष्ट इङ्ल्यान्डले जितेको थियो ।