राजधानी काबुलको उत्तरमा रहेको पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्तमध्ये एक हो र हाल यो एकमात्र यस्तो प्रान्त बनेको छ जुन अहिलेसम्म तालिबानको कब्जामा आउन सकेको छैन ।

तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीरमाथि कब्जा जमाउनका लागि युद्ध जारी छ । शनिबार पनि यो युद्ध जारी रह्यो ।

दुबै पक्षले पञ्जशीर आफ्नो कब्जामा भएको दाबी गरेका छन् तर पञ्जशीरमा स्थिति कस्तो छ, त्यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

पञ्जशीरमा स्थिति स्पष्ट छैनः

अमेरिकी सेनाको फिर्तीसँगै तालिबानले पूरा अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको छ । तर पञ्जशीर त्यो एक्लो प्रान्त हो जसका लागि युद्ध गर्नुपरेको छ । यद्यपि, यो नौलो कुरा भने होइन । सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानको सत्ता सम्हालेका बेला पञ्जशीर तालिबानको कब्जामा थिएन ।

यद्यपि, तालिबानका प्रवक्ता विलाल करिमीले खिंज र उनाबाह जिल्लामा तालिबानको कब्जा भइसकेको दाबी गरेका छन् । उनले प्रान्तको सात जिल्लामध्ये चार जिल्लामा कब्जा जमाइसकेको दाबी गरेका छन् ।

उनले ट्वीटरमा यसबारे जानकारी दिँदै लेखे, ‘मुजाहिदिन (तालिबान लडाकू) केन्द्र (प्रान्त) तर्फ अघि बढिरहेका छन् ।’

तर अफगानिस्तानको राष्ट्रिय प्रतिरोधी मोर्चा (एनआरएफ) का स्थानीय नेता अहमद मसूदसँग भएको बलले आफूले ख्वाक दर्रेमा ‘हज्जारौं चरमपन्थी’ लाई घेरेको दाबी गरेको छ । यसका साथै तालिबानले दश्ते रेवाक क्षेत्रमा कब्जामा लिएका सवारीसाधन र अन्य वस्तुलाई छोडिदिएको दाबी गरेका छन् ।

एनआरएफका प्रवक्ता फहिम दश्तीले तालिबानसँग गृहयुद्ध जारी भएको बताए ।

एक फेसबुक पोस्टमा अहमद मसूदले भने, ‘दृढतापूर्वक लड्न जारी राख्नेछौं ।’

उनले हेरात शहरमा महिलाको प्रदर्शनमाथि टिप्पणी गर्दै महिलाले आफ्नो अधिकारका लागि प्रदर्शन गर्नुले यो दर्साउँछ कि अफगानले न्यायको माग छोडेको छैन र उनीहरु हरेक डरको अगाडि डटिरहेका छन् ।

गृहयुद्धको आशंकाः

यस्तै, जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष अमेरिकी जनरल मार्क मिलेले अफगानिस्तानमा गम्भीर परिस्थिति निम्तिने भन्दै चेतावनी दिएका छन् ।

मार्क मिलेले भने, ‘मलाई लाग्छ कि अफगानिस्तनमा जुन प्रकारको स्थिति छ, त्यो गृहयुद्धमा परिवर्तन हुने पूरा आशंका छ । तालिबान सत्ता बलियो बनाउन वा शासन स्थापित गर्न सक्षम हुने छ वा छैन, यो कुरा मलाई थाहा छैन ।’

फक्स न्यूजसँग कुरा गर्दै मिलेले भने, ‘यदि तालिबान एक बलियो र स्थिर शासन स्थापित गर्नमा असफल रह्यो भने अबको तीन वर्षमा अल कायदाको पुनर्गठन वा आइएसआइएस वा यस्तै अन्य चरमपन्थी संगठन विकसित हुनेछ ।’

पञ्जशीरमा यतिबेला के भइरहेको छ, के छैन, यसको स्वतन्त्र पुष्टि गर्न सम्भव छैन ।

https://twitter.com/lindseyhilsum/status/1434054625896902658/photo/1

पञ्जशीरमा कब्जा गरेकोमा उत्सवः

रोयटर्सको खबर अनुसार तालिबानले पञ्जशीरमाथि कब्जा जमाइसकेको र यसका लागि तालिबानले गोली दागेर उत्सव मनाएको दाबी गरिएको छ । उत्सव मनाउने क्रममा कम्तीमा १० भन्दा बढी मारिएका छन् र चारभन्दा बढी घाइते भएका छन् ।

यसैबीच पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद शनिबार काबुल पुगेका छन् ।