अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकी सैनिक भविष्यमा अफगानिस्तान फिर्ता हुने भविष्यवाणी गरेका छन् ।

हार्डटक कार्यक्रमसँग कुराकानीमा उनले भने, ‘हामी जानुपर्नेछ किनभने आतंकको खतरा निकै ठूलो हुनेछ ।’

उनले अफगानिस्तानमा अल–कायदा पुनः सल्बलाउने हो कि भनेर आशंका व्यक्त गरे ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मानिने सांसद ग्राहमले नयाँ तालिबान शासनमा अफगानिस्तान कट्टरवादी इस्लामको एउटा ठूलो आश्रय स्थल हुने बताएका छन् ।

उनले भने, ‘यहाँ ट्रम्पको गल्ती वा बाइडेनको गल्ती भनेर कुरा गर्नु बेकार छ । यहाँ महत्वपूर्ण कुरा के छ भने तालिबान अहिले पनि फेरिएको छैन, उनीहरु त्यस्तै छन् र उनीहरुको आधुनिक समयसँग कुनै मेलजोल छैन ।’

‘हामी पुनः अफगानिस्तानमा जानुपर्नेछ जस्तो कि हामी इराक र सिरियामा गएका थियौं ।’

अघिल्लो हप्ता अमेरिकी सुरक्षाबलले आफ्नो २० वर्ष चलेको अभियान अन्त्य गर्दै अफगानिस्तानबाट निस्किएका थिए ।