संयुक्त अरब इमिरेट्स वा यूएईले आइतबार एउटा ठूलो निर्णय गर्दै अन्य देशबाट रोजगारीमा आउनेहरुका लागि अपनाइने कडा नियम खुकुलो बनाएको घोषणा गरेको छ ।

यो निर्णयपश्चात् अब त्यहाँ काम गर्ने कामदार रोजगारदाता कम्पनीले स्पोन्सर नगरिकनै त्यहाँ बस्न र काम गर्न सक्नेछन् ।  

यूएईमा अन्य देशका नागरिकले एक सिमित समयका लागि मात्रै भिसा पाउँथे जबकी अन्य थुप्रै देशमा एक निश्चित समयसम्म बसेपछि विदेशी नागरिकले लामो समय बस्न पाउने (रेसिडेन्सी) व्यवस्था हुन्छ ।

यसअघि यूएईले रेसिडेन्सीको दर्जा पूर्ण रुपमा जागिरसँग जोडिएको थियो जसका कारण यदि कुनै व्यक्तिको जागिर छैन भने ती व्यक्तिले देश छोड्नु पर्दथ्यो ।

अब नियम परिवर्तन भएपछि विदेशीलाई कम्पनीले स्पोन्सर नगरेपनि बस्न सक्छन् । यसका साथै, उनीहरुले थुप्रै सुविधा पनि पाउनेछन् ।

कस्ता छन् सुविधा ?

– यदि कुनै कर्मचारीको जागिर गुम्यो भने उनीहरु थप तीन महिनासम्म त्यहाँ बसेर अर्को जागिर खोज्न सक्छन् ।

– साथै, त्यहाँ बसिरहेका विदेशी आफ्ना आमा–बुवा र २५ वर्षसम्मका सन्तानको भिसा पनि स्पोन्सर गर्न सक्छन् ।

– यसैगरी त्यहाँ बसेर काम गर्ने फ्रिलान्सर, विधवा वा सम्बन्धविच्छेद भएकाहरुलाई भिसा नियममा छुट दिइएको छ ।

यूएईका विदेशी व्यापार राज्यमन्त्री थनी अल–जेयुदीले एक अन्तरवार्तामा उनको देशले अबको ५० वर्षको अर्थव्यवस्था तयार गरिरहेका र भिसा नियममा छुटको निर्णय, त्यसैको एउटा पाटो भएको जानकारी दिए ।

उनले भने, ‘हामी पूरा व्यवस्थालाई पुनः बनाउन चाहन्छौं ताकि रेसिडेन्सी सिस्टम यस्तो होस् जसका कारण मानिसहरु यहाँ आउनका लागि आकर्षित होउन् र उनीहरुलाई लागोस् कि यूएई उनीहरुको आफ्नै घर हो ।’

यूएईले यसअघि धनी व्यक्ति र उच्च कौशल भएका व्यक्तिलाई आकर्षित गर्नका लागि सन् २०१९ मा पनि १० वर्षको अवधि पूरा गर्नेलाई गोल्डेन भिसा दिन सुरु गरेका थिए ।