झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ लाई आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

‘विश्वव्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर –४’ पूर्व घोषित मिति भदौ १८ मा रिलिज गर्न सकेनौ’ थापाले अगाडि लेखेका छन्– ‘अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोल्ने अनुमति दिएकोले विस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशावादी छौं ।’

उनले आफ्नो फिल्मको प्रदर्शन मिति आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन् । उनले अगाडि भनेका छन् ‘सम्पूर्ण चलचित्रकर्मी, दर्शकहरुको साथ र सहयोगको अपेक्षा राखेका छौ ।’ फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।