तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ ।


हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ । नियम तोड्ने जोकोहीलाई सजाय दिइने चेतावनी तालिबानले दिएको छ । पछिल्लो निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको संकेत गरेको छ ।

तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो । गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ । शनिबार चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर हत्या गर्नुका साथै उनीहरूको शरीर हेरात राज्यको सडकमा क्रेनमा झुन्ड्याइएको थियो ।

केही दिनअघि मात्रै तालिबानको धार्मिक प्रहरीका एक पूर्वप्रमुख मुल्लाह नुरूद्दीन तुराबीले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका थिए ।