दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ । यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ ।
सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो । बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले सङ्क्रमितको सङ्ख्या बढेको हो । सङ्क्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ ।
हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ ।