काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

सोमबार टियू मैदान कीर्तिपुरमा भएको चौथो खेलमा भैरहवाले चितवन टाइगर्समाथि ६ विकेटको प्रभावशाली जित निकालेको हो ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा चितवनले पहिलो ब्याटिङ गर्दै १ सय ६५ रन बनाएको थियो । जवाफमा भैरहवाले १३ बल बाँकी छँदा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

भैरहवासँग पराजित भएसँगै चितवनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लगातार चार खेल जित्दै आठ अंकका साथ शीर्ष स्थानमा रहेको चितवन शीर्ष दुईमा रहने निश्चित भइसकेको छ । चार खेलमा ६ अंक बटुलेको भैरहवा दोस्रो स्थानमा उक्लिएको छ । पोखरा राइनोज समान चार खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ । चितवनसँगै भैरहवा र पोखरा प्लेअफमा प्रवेश गरिसकेका छन् ।

प्लेअफ प्रवेश गर्ने चौथो टोलीको तय हुन बाँकी छ । अब काठमाडौँले दुई खेलमा एक जित निकाले प्ले अफमा पुग्नेछ । तर दुवै खेल हारेमा ललितपुर पेट्रियट्स प्ले अफमा पुग्नेछ । तीन अंकका साथ ललितपुर चौथो स्थानमा छ भने काठमाडौँ दुई अंकका साथ पाँचौं स्थानमा छ ।