काठमाडौं –  मेलबर्न अस्ट्रेलियामा रहेका गायक तथा गीतकार अभिनय निरौलाले दशैको कोशेली स्वरूप आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘हुन्न नभन’ सार्वजनिक गरेका छन्। 

रोमाण्टिक भर्सनको यस गीतमा सायरी समावेश गरेर गीतलाई थप मिठास थप्ने कोसिस गरिएको छ।  युगल गायनमा रहेको  गीतमा गायक निरौलाको साथमा युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्। 

अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि. लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ‘अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। 

इटहरी निवासी गायक निरौलाले यसअघि ‘अन्तै मबाट’, ‘घिर्लिङ्ग’ बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका छन्।  यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।