काठमाडौं ।  सोमवारबारट सुचारु भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले एफसी खुमलटार युथ क्लवमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७ औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको खुमलटारले गोलका लागि केही अवसर सिर्जना गरेपनि गोल फर्काउन सकेन । यस्तै संकटाले पाएका केही अवसरलाई पनि सदुपयोग गर्न असफल रह्यो ।

यसअघि १४ औं मिनेटमा  खुमलटारका मोसौके ओलोमोउको प्रहार बाहिरिएको थियो । १७ औं मिनेटमा राजिव लोप्चको प्रहार बाहिरिँदा खुमलटार अग्रता लिनबाट चुक्यो । २४ औं मिनेटमा नेल्सनको कर्नरमा जुनियरको हेडर पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिने अवसर गुमाएको थियो ।
अब संकटाले चैत २६ गते मछिन्द्र फुटबल क्लव तथा खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लवको सामना गर्नेछ । यसैगरी च्यासल मैदानमा  सम्पन्न  विभागीय डर्बी भिडन्तमा नेपाल एपिएफ फुटबल क्लवले नेपाल पुलिस क्लवमाथि २–० को जित निकाल्यो । एपिएफलाई जित दिलाउन एडमा डोम्बिया र  सविन  गुरुङले  समान एक गोल गरे ।

खेलको ५७ औं मिनेटमा डोम्बियाले एपिएफलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा सविनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यस जितसँगै ६ खेलमा १० अंक जोडेको  एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।