काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । 

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौं सञ्चार तथा सूचना प्रविधि दिवस मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको हो । उहाँले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर बिस्तार गरिएको बताउनु भयो । त्यस्तै सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराउनु भयो ।

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकार लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानूनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गर्नुभयो । 

उहाँले सुशासन सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । मन्त्री शर्माले देशमा भएका बेथितिहरुको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताउनु भयो । सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिकासाथ अघि बढाइरहेको उहाँको भनाई छ ।