एसिया कपको फाइनल भारत र श्रीलंकाबीच हुदैछ । दुवै टोलीले उत्कृष्ट खेल देखाएका छन् ।

श्रीलंका सुपर ४ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ भने अर्कोतर्फ सुपर ४ मा भारतीय टोली श्रीलंका र पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

तर, अन्तिम सुपर ४ खेलमा भारतले बंगलादेशसँग हार बेहोरेको थियो । अब भारतीय टोलीले फाइनलमा श्रीलंकाको सामना गर्नेछ ।

भारत-श्रीलंका फाइनलमा पनि वर्षाको खतरा
भारत र श्रीलंकाबीचको फाइनल खेल १७ सेप्टेम्बर अर्थात आज कोलम्बोको प्रेमदासा स्टेडियममा हुनेछ । बर्षाले यस प्रतियोगितामा धेरै बाधा पुर्याएको छ । यस्तो अवस्थामा आजको खेलमा पनि वर्षाको सम्भावना रहेको छ । आज कोलम्बोमा पानी पर्ने सम्भावना ८० प्रतिशतसम्म रहेको छ । AccuWeather को रिपोर्ट अनुसार आज दिउसाे १ बजे देखि ७ बजे सम्म भारी वर्षाको सम्भावना छ। भारत र श्रीलंकाबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ ।

फाइनलका लागि रिजर्भ डे राखिएको छ
आज पानी पर्न सक्ने सम्भावना भए भोलिपल्ट खेल हुनेछ । अर्थात् एक दिनलाई फाइनलका लागि रिजर्भ डेको रुपमा राखिएको छ । यस्तो अवस्थामा भाेली पनि पानी पर्न सक्छ ? यो प्रश्न फ्यानहरुको मनमा पनि उब्जिएको छ । माैसम पुर्वानुमानका अनुसार भाेली पनि वर्षाको सम्भावना ६९ प्रतिशत रहेकाे छ। यस्तो अवस्थामा आज र भाेली पानी परे र खेल सकिएन भने दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

फाइनल रद्द भयो भने के हुन्छ
वर्षाका कारण खेल सम्पन्न हुन नसके खेल रद्द हुने र भारत र श्रीलंकालाई एसिया कपको विजेता घोषणा गरिने छ । तर, अम्पायरले सकेसम्म खेल सकियोस् भन्ने चाहन्छन् । खेल २०-२० ओभरको मात्र बनाइए पनि।

दुवै टोली एकपटक संयुक्त विजेता बनेका छन्
सन् २००२ को च्याम्पियन्स ट्रफीको फाइनल खेल भारत र श्रीलंकाबीच हुने थियो तर वर्षाका कारण खेल रद्द भएको थियो । जसका कारण भारत र श्रीलंका संयुक्त विजेता घोषित भएका थिए।

भारत र श्रीलंकाको रेकर्ड
भारत र श्रीलंकाले हालसम्म १६६ ओडीआई खेलेका छन् जसमा भारतले ९७ खेल जितेको छ । यसबाहेक श्रीलंकाले ५७ खेल जितेको छ । १ खेल बराबरीमा सकिएको छ ।

कोलम्बो, प्रेमदासामा भारत र श्रीलंकाको रेकर्ड
कोलम्बोको प्रेमासदामा भारत र श्रीलंकाबीच ३७ ओडिआई खेल भएका छन्, जसमा भारतले १८ पटक जितेको छ भने श्रीलंकाले १६ खेल जितेको छ। ३ खेलको नतिजा आउन सकेन ।

एजेन्सीकाे सहयाेगमा