काठमाडौं : उपन्यासकार नारद पोखरेलको चौथो उपन्यास ‘उर्वरा’ आज (शनिबार) काठमाडौँमा लोकार्पित भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न सो लोकार्पण समारोहका मुख्य अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा थिए । कार्यक्रलाई सम्बोधन गर्दै मुख्य अतिथि शर्माले ‘क’देखि ‘ज्ञ’सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उपन्यासकार पोखरेलले सफल प्रयोगात्मक लेखन गरेकोमा हर्ष व्यक्त गरे । ‘उर्वरा’ मार्फत प्रयोग गरिएको आख्यानलेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेकोमा उपन्यासकार पोखरेललाई बधाई छ,’ शर्माले भने ।
समारोहमा वरिष्ठ आख्यानकार माया ठकुरी, कवि तथा गीतकार विधान आचार्य, उपन्यास समाज अध्यक्ष शङ्कर भारती, टिप्पणीकार अनुपमा रेग्मी, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, साहित्यकार माधव बिडारी चेतनपथ, कवि भेषराज पोखरेललगायतले उपन्यासकार पोखरेलको लेखन प्रवृत्तिबारे टिप्पणी गरेका थिए । उपन्यासकार पोखरेलका यसअघि नयाँ बाटो (२०४०), सिर्जना (२०४६), प्रतिघात (२०७८) उपन्यास प्रकाशित छन् ।