काठमाडौं — नेपाली संगीत उद्योगमा आफ्नो छुट्टै गायन शैलीका लागि परिचित गायक, गीतकार तथा संगीतकार पवन गिरीले नयाँ गीत ‘वास्तविकता’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, संगीत र स्वर तीनै पक्षमा पवन गिरीको एकल प्रस्तुति रहेको छ।
गहिरो अर्थ बोकेको यस गीतमा गायिका तथा मोडल प्रतिभा रानीको अभिनय समावेश गरिएको छ, जसले गीतको भावलाई सशक्त रूपमा प्रस्तुत गर्न सहयोग पुर्याएको छ। पवन गिरीकै निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘Pawan Giri’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत “वास्तविकता” जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा हो। झुटो मुस्कान, बनावटी सम्बन्ध र मुखौटाको भीडमा हराउँदा जीवनले दिएको चोट र सिकाइबाट जन्मिएको हिम्मतलाई गीतको केन्द्रबिन्दु बनाइएको छ।
पवन गिरी भन्छन्: “वास्तविकता भन्नुको अर्थ आत्माको आवाज सुन्ने साहस हो। यो गीत मेरो भित्री अनुभूतिहरूको अभिव्यक्ति हो, जसले श्रोता तथा दर्शकहरूमाझ केही साँचो कुराहरू ल्याओस् भन्ने चाहना राखिएको छ।”
गीतमा प्रयोग गरिएका शब्दहरू सरल भए पनि गहिरा छन्, र संगीत संयोजनले श्रोताको मन छुने खालको शान्त र संवेदनशील वातावरण सिर्जना गर्छ। गायक गिरीले यस गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
