व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तर भवन निर्माणमा चाहिने काठको लागि भने २०७८ भदौ २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट अनुमति प्राप्त भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभयो ।

छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण सुरु गरिएको थियो । एक वर्षभित्र निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा ठेक्का सम्झौता भएको एक वर्षपछि मात्रै काठको अनुमति पाउँदा निर्माणको कार्य पनि ढिलाई भएको छ । निर्माण व्यवसायीले काठको अनुमतिबिनै भूइँतला निर्माण गरेको छ । वन तथा वातावरण मन्त्रालयले छाङ्गरुस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि संरक्षित सामुदायिक वनबाट बार्षिक कार्ययोजना अनुसार काठ उपलब्ध गराउन अपि नाम्पा संरक्षण क्षेत्रले सहजीकरण गर्न भनेको छ ।

सामुदायिक वनले वार्षिक एक हजार ५०० क्यूफिट काठ वार्षिक रुपमा समुदायलाई उपलब्ध गराउन सक्ने कार्ययोजना छ । सामुदायिक वनले भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको भवन निर्माणको लागि काठ उपलब्ध गराउन नसकिने प्रष्ट्याएको छ । मन्त्रालयले सामुदायिक वनबाट काठ उपलब्ध हुन नसक्ने अवस्था भएमा सरकारी वनमा रहेका सुकेका, ढलापडा, रोग लागेका, मृत अद्र्यमृत रुख एकीन गरी वन्यजन्तु र जैविक विविधतामा असर नपग्ने सुनिश्चितता मिलाएर रुख कटान गरी गोलिया काठ सङ्कलन गर्न सकिने उल्लेख गरेको छ ।

छाङ्गरुस्थित सशस्त्र प्रहरी भवन निर्माणको लागि पाँच हजार क्यूफिट र नेपाल प्रहरीको सीता पुल प्रहरी चौकी निर्माणको लागि तीन हजार ५०० क्यूफिट काठ आवश्यकपर्ने बताइएको छ ।
–––