मेलम्ची, १० असोज (रासस) ः गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् ।

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् । अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् । प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् ।

यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् । टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् । मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उहाँले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनःनिर्माण जारी राख्नुभएको छ । अघिले हप्ताबाट उहाँ घरको माथिल्लो तलामा बस्न थाल्नुभएको छ । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाउनुभयो ।