दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट आजबाट बुकिङ खुला गरिदै छ ।


आज बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।

प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताउनु भयो । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।