काठमाडौँ, १२ असोज (रासस) ः

अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो “पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन” उहाँले भन्नुभयो ।

नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो,“समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।” सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारीदिनुभयोे ।

उहाँले दलितको लागि पनि आवास योजना अघि सारिएको बताउनुभयोे । यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उहाँले जानकारी दिनुभयो ।