सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालयको भागबण्डामा सहमति भएको छ ।


बालुवाटारमा हिजो बसेको बैठकमा काँग्रेसले आठ, एकीकृत समाजवादी र जनता समाजवादीले चार चार मन्त्रालय पाउने गरि सहमति भएको छ ।

सहमति अनुसार कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति भएको छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको छ ।