२८ माघ, चितवन । आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ । सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पु¥याउन लागेको हो ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले सातवटै प्रदेशमा यससम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लो स्तरसम्म पु¥याउन लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा बुढाथोकीले जानकारी दिनुभयो ।
सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्यचौकीसम्म यो सेवा विस्तार हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस हुन्छ ।
” विगत दुई वर्षमा प्रदेशहरूमा नीति, निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेटसमेत फ्रिज भएको उहाँको भनाइ छ ।
यही अभियानअन्तर्गत मधेस प्रदेशले चितवनमा तालिमको आयोजना गरेको छ । मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख शरदचन्द्र न्यौपानेका अनुसार एक हप्ता अगाडि १४ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ भने थप १४ जनाको तालिम भइरहेको छ । तालिममा मधेस प्रदेशका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुनुहुन्छ ।
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिममा भरतपुर अस्पतालका डा अजय न्यौपानेले मुख स्वास्थ्य, डा सुमित पाण्डेले आँखा, डा रमेश भण्डारीले नाक, कान र घाँटीसम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ ।
प्रमुख न्यौपानेले मधेस प्रदेशमा प्रशिक्षक नभएपछि चितवनमा ल्याएर तालिम दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक त मधेस प्रदेशमा प्रशिक्षक हुनुहुन्न, अर्काे कार्यक्षेत्रभन्दा टाढा लगेर तालिम दिक्षा ध्यान अन्यत्र नजाने र तालिम प्रभावकारी हुने हुँदा चितवनमा तालिम आयोजना गरेका हौँ ।
” प्रशिक्षक लगेर तालिम दिँदा धेरै खर्चिलो हुने भएकाले चितवन नै आएर तालिम गरिएको उहाँको भनाइ छ । यो तालिम सम्पन्न भएपछि मधेस प्रदेशमा २८ प्रशिक्षक तयार हुने जनाउँदै न्यौपानेले भन्नुभयो, “अब मधेस प्रदेशका जिल्ला–जिल्लामा आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा प्रशिक्षण हुन्छ ।”
प्रशिक्षक एवं भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा अजय न्यौपानेले मुख स्वास्थ्यका विषयमा धेरै हेलचक्र्याइँ हुने गरेको बताउनुभयो । उहाँले ९० प्रतिशत बालबालिका र ७० प्रतिशत अन्य मानिसमा दाँतको समस्या रहने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दाँत र मुखको सरसफाइको कमी छ, दिनमा दुईपटक ब्रस पनि गरिँदैन ।
” खानपिनमा परिवर्तन भएको, चक्लेटलगायतका दाँतमा टाँसिने खाना धेरै खान थालिएको तर नियमित दन्त परीक्षण नगरिएका कारण दाँतको समस्या बढ्दै गएको डा न्यौपानेको भनाइ छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका नाँक, कान तथा घाँटी क्यान्सर रोग विशेष डा अनिलविक्रम कार्कीले आँखा, नाक, कान, घाँटी तथा मुखको सरसफाइको कमीले क्यान्सरसमेत हुनसक्ने बताउनुभयो ।
उहाँले नाक–कान–घाँटीको क्यान्सर चौथो बढी क्यान्सर हुनेमा पर्ने गरेको बताउँदै भन्नुभयो, “नाक–कान–घाँटीको क्यान्सरको मुख्य कारण सुर्तीजन्य पदार्थ र मद्यपानको सेवन, मुखमैथुन हो ।
” पान, सुपारी, गुड्का, गुल्कजस्ता वस्तुको अम्मलका कारण पछिल्लो समय नाक, कान घाँटीको क्यान्सरका समस्या बढ्दै गएको उहाँको भनाइ छ । तिखो दाँतले घोचेर चोट लागेपछि मुखमा क्यान्सर हुने गरेको डा कार्कीको भनाइ छ ।