२८ माघ, मान्म । कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहनुभएको छ ।

उपसचिवको दरबन्दी रहेको रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तहका प्राविधिक कर्मचारी जवानसिंह बम, खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारी जसीप्रसाद चौलागार्इं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौँ तहका कर्मचारी लक्ष्मणप्रसाद चौलागाईंलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, पलाँतामा छैटौँ तहका कर्मसिंह बम, सान्नी त्रिवेणीमा छैटौँ तहका नेत्रबहादुर शाही, शुभकालिकामा छैटाँै तहका केन्द्रबहादुर शाहीलार्ई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।

उहाँहरु पशु सेवा प्राविधिकतर्फका अधिकृत हुनुहुन्छ ।

पचालझरनामा प्रशासनतर्फका अधिकृत वीरेन्द्रवहादुर बम र नरहरिनाथमा अधिकृत गणेशमान सिंहलाई जिम्मेवारी तोकिएको छ । कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह सञ्चालन गर्नु परेको शुभकालिका गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले बताउनुभयो ।

“गाउँपािलकामा प्रशासनतर्फका अधिकृत रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रहने भन्ने छ,” उहाँले भन्नुभयो, “दुर्गम कुनै कर्मचारी आउन नमान्ने भएकाले हामीले लामो समयदेखि निमिक्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम चलाउँदै आएको छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नआउँदा विकास निर्माणमा काममा असर पर्ने भएकाले निमित्त भरमा लामो समयदेखि काम गर्दै आएको रास्कोट नगर प्रमुख काशीचन्द बरालले जानकारी दिनुभयो ।

“विकासका निर्माणका काम रोक्नु भएन । उपसचिव दुर्गममा नगरपालिकामा आउन मान्दैनन्,” उहाँले भन्नुभयो, “त्यसैले पनि निमित्तका भरमा स्थानीय तहका सरकार चलाइरहेका छौँ ।