१ फागुन, तनहुँ । व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको आकर्षक मूर्ति निर्माण गरिएको छ । वडा कार्यालयको रु तीन लाख र स्थानीयवासीको सहभागितामा रु एक लाख २० हजारको लागतमा उक्त मूर्ति निर्माण गरिएको हो ।


बिदाका दिनमा करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक दुम्सीचौर आउने गरेका छन् । टिकटक,सेल्फी र फोटो खिच्न मानिस आउने गरेको मूर्ति निर्माण समितिका संयोजक किशोर गुरुङले जानकारी दिनुभयो ।

ओझेलमा पर्दै गएको दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरेकाले सो स्थलको पहिचान हुनाका साथै मानिसको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो ।

त्यसैगरी सोही वडाको परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर राखिएको छ । वडाबाट बजेट विनियोजन गरिए पनि सोही स्थान नजिक विवेक सापकोटाले पिजनहिल रिर्सोट एण्ड फन पार्क निर्माण गरी सञ्चालन गर्न थालेपछि थाल्नाका साथै निजी लगानीमै परेवाको मूर्ति निर्माण गर्नुभएको हो ।

करिब रु पाँच लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको छ ।

परेवा डाँडामा राखिएको परेवाको मूर्तिसँग फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको बताइएको छ । वडाभित्र रहेका ऐतिहासिकस्थलको नाउँ नमेटिने गरी भोलिका सन्ततिलाई पनि स्मरण गराउनका ठाउँ अनुरुपको मूर्ति निर्माण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

आगामी दिनमा कुमालटारीमा कुमालेले माटोको घैँटो बनाएको मूर्ति र पाथ्राघाटमा माझीलेले ढुङ्गा चलाएको मूर्ति बनाउने योजना रहेको छ उहाँले बताउनुभयो । ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नका लागि वडाले प्राथामिकतामा राखेर काम गर्दै आएकोसमेत उहाँले जानकारी दिनुभयो ।