२ फागुन, बागलुङ । अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहनुभएका गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ ।

उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई थप उपचारका लागि शाखाले रु चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो । संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

अर्थाभावका कारण परियार उपचारबाट वञ्चित हुनुपर्ने स्थिति आएपछि शाखाको पहलमा जापानमा रहेका गलकोटेले स्वतःस्फुर्त रकम जुटाएर नेपाल पठाएको उहाँको भनाइ छ ।

११० सहयोगदाताबाट सो रकम सङ्कल भएको थियो । न्यून आए भएको परिवारको सदस्यको उपचारमा समस्या निम्तिएपछि मानवीय सेवाभाव राखेर आर्थिक सहयोग अभियान चलाइएको शाखाका सचिव तुलवीर थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँठाउँमा अप्ठेरो पर्दा शाखाले अघिपछि पनि यस किसिमका सहायता प्रदान गर्दै आएको छ ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपको नेपालका विभिन्न सहरदेखि भारत, जापानलगायतका देशमा शाखा छन् । विसं २०४१ खुलेको उक्त संस्था सामाजिक र मानवीय सेवाका क्षेत्रमा क्रियाशील छ ।